काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार साँझ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको र सेती दोभानमा माथिबाट लेदो आई सवारी आवागमन दुईतर्फी अवरुद्ध भएको हो ।
'मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको छ, सेती दोभानमा माथिबाट लेदो आई सवारी आवागमन दुईतर्फी अवरुद्ध बनेको छ,' सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै भनेको छ ।
मेसिन सम्बन्धित स्थानमा पुगिसकेको भए पनि निरन्तर ठूलो वर्षाको कारण पहिरो हटाउन समस्या भइरहेको जनाइएको छ ।
निरन्तर वर्षा भइरहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ ।