काठमाडौं । सोमबार विभिन्न मिडीया कार्यालय तथा केही नेताको घरअगाडि शंकास्पद रूपमा गाडी राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममाथि आतंक सिर्जना गर्ने उद्देश्यले गरिएका यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।
रास्वपाले सञ्चारमाध्यम र सञ्चारकर्मीले निर्भीक रूपमा काम गर्ने वातावरणमाथि धावा बोल्ने तथा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले यस्ता शंकास्पद र रहस्यमय गतिविधि गरिएको हुन सक्ने आशंका व्यक्त गरेको छ।
'राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लंघन हुन् । एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको छ,' रास्वपाका महामन्त्री आचार्यदारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै रास्वपाले घटनाको निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीको भौतिक एवं मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
यद्यपी कान्तिपुर पब्लिकेसन्सको मुख्य प्रवेशद्वारअगाडि शंकास्पद रूपमा पार्क गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपा नेता रवि जयसवाल ले प्रयोग गर्दै आएको खुलेको छ।
सोमबार रातोपुलस्थित कांग्रेस सभापति थापाको घर, थापाथलीस्थित कान्तिपुर, बुद्धनगरस्थित अनलाइन खबर, मध्यबानेश्वरस्थित हिमालय टेलिभिजन र अनामनगरस्थित भाटभटेनी सुपरस्टोरका सवारी आवागमन प्रभावित पार्ने नियतका साथ सवारी साधन पार्किङ गरिएका थिए ।
त्यसमध्ये कान्तिपुरमा रास्वपा नेता जयसवालको र हिमालय टेलिभिजनमा अग्नि इनकर्पोरेट डी प्रालिका नामका गाडी भएको पुष्टि भइसकेको छ ।
बेवारिसे छाडिएका गाडीहरूलाई प्रहरीले रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालेको छ ।
