काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मुख्य प्रवेशद्वार अगाडि शंकास्पद रूपमा पार्क गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ ।
गाडीको दर्ता हाल सानिमा बैंकको नाममा रहे पनि रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवार (जयसवाल) ले उक्त गाडी आफ्ना छोरा रवि जयसवालले चलाउँदै आएको पुष्टि गरेका हुन् ।
करिब एक महिनाअघि मात्रै गाडी खरिद गरिएको र बैंकको ऋण प्रक्रिया पूरा भइनसकेकाले अझै बैंककै नाममा रहेको दाबी गरिएको छ । उक्त नम्बरको गाडी रविले चलाउने गरेका छन् ।
रवि जयसवाल केही समयअघि मात्रै रास्वपामा प्रवेश गरी सक्रिय राजनीतिमा लागेका हुन् । रास्वपाले उनलाई गत जेठ ८ गते केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनयन गरेको थियो।
उनी तत्कालीन महामन्त्री भूपदेव शाहको प्रस्तावमा उक्त जिम्मेवारीमा नियुक्त भएका थिए। सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालय अगाडि सडक अवरुद्ध हुने गरी तीनवटा गाडी पार्क गरिएका थिए ।