काठमाडौं । राजधानीमा विभिन्न सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी राखिएको घटनाबारे रास्वपाका पूर्व केन्द्रीय सदस्य मधुसुदन ढकालले सांकेतिक टिप्पणी गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' निकट मानिने ढकालले सामाजिक सञ्जालमार्फत टिप्पणी साझा गर्दै अव्यवस्थित पार्किङले कस्तो असहज अवस्था सिर्जना गर्न सक्छ भन्ने सन्देश दिन खोजिएको हुन सक्ने बताएका छन्।
उनले लेखेका छन्- 'पहिलो कुरा त अव्यवस्थित पार्किङले कति गाह्रो पर्न सक्छ भनेर सांकेतिक जानकारी दिएको पनि हुन सक्छ। अर्को कुरा, जनताले जे पनि गर्न पाउनुपर्छ भन्ने सोच हुँदा अरूलाई कति अप्ठ्यारो पर्छ भन्ने देखाउन खोजिएको पनि हुन सक्छ।'
सोमबार बिहान कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजन का कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएका थिए। प्रहरीले क्रेन प्रयोग गरेर ती गाडी हटाएको थियो।
गाडी कसको हो भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक भएको छैन। केही सरोकारवालाले आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपाली सम्बन्धी समाचार प्रकाशन गरेका कारण सञ्चारमाध्यमलाई त्रसित पार्ने उद्देश्यले यस्तो गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
यसैबीच, घटनापछि बालेन निकट नेताको सार्वजनिक टिप्पणीले पनि विभिन्न कोणबाट प्रश्न उठाएको छ। यद्यपि, गाडी राखिएको घटनाको उद्देश्य वा त्यसमा कसको संलग्नता थियो भन्ने विषयमा प्रहरीले औपचारिक निष्कर्ष सार्वजनिक गरिसकेको छैन।
यता, नेपाल पत्रकार महासंघले पनि विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रुपमा गाडी पार्किङ गरी सञ्चारमाध्यमको निर्बाध कार्यसम्पादनमा अवरोध पुर्याउने आतंक सिर्जना गरिएको उल्लेख गर्दै छानबिन र कारबाहीको माग गरेको छ ।