Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

भक्तपुर क्यान्सर अस्पतालमा विनियमावली विवाद : मन्त्रालयले फिर्ता पठायो, बोर्ड बैठक कोरम नपुगेर स्थगित

भक्तपुर क्यान्सर अस्पतालमा विनियमावली विवाद : मन्त्रालयले फिर्ता पठायो, बोर्ड बैठक कोरम नपुगेर स्थगित

आइतवार , श्रावण ३, २०८३

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको कर्मचारीको सेवा, सर्त तथा सुविधासम्बन्धी विनियमावलीलाई लिएर अस्पतालभित्र विवाद बढेको छ ।

अस्पताल विकास समितिबाट स्वीकृत गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय पठाइएको उक्त विनियमावलीमा बोर्ड सदस्यहरूले नै गम्भीर असहमति जनाएपछि मन्त्रालयले थप छलफलका लागि अस्पतालमै फिर्ता पठाएको हो ।

विवादित विनियमावली पुनः पारित गराएर मन्त्रालय पठाउने उद्देश्यले अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले आइतबार बिहान ८ बजे बैठक बोलाउन सदस्य–सचिव तथा कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेलाई निर्देशन दिएका थिए ।

तर बैठकअघि नै बोर्डका ६ सदस्यले आफूहरू उपत्यकाबाहिर रहेको जनाउँदै निर्धारित मितिमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।

संगीता फुँयाल, प्राडा. अभिमन्यू झा, प्राडा. प्रदीप बैद्य, सम्पदा श्रेष्ठ, सुजाता कार्की र महेश श्रेष्ठले संयुक्त रूपमा हस्ताक्षर गरी साउन ११ गते बैठक बोलाउन आग्रह गर्दै पत्र अस्पतालमा दर्ता गराएका थिए। त्यसपछि आइतबारको बैठकमा आवश्यक कोरम नपुगेपछि बैठक नै बस्न सकेन।

स्रोतका अनुसार शुक्रबार प्रशासन प्रमुख राजाराम तजले नेतृत्व गरेको समूहले कार्यकारी निर्देशक चालिसेलाई कार्यकक्षमै घेराउ गर्दै विनियमावली मन्त्रालय पठाउन हस्ताक्षर गर्न दबाब दिएको थियो। चालिसेले अस्वीकार गरेपछि राजीनामापत्रमै हस्ताक्षर गर्नसमेत दबाब दिइएको दाबी गरिएको छ।

स्रोतका अनुसार आइतबारको बैठकबाट जसरी पनि विनियमावली पारित गर्ने सहमति बनेपछि मात्र चालिसेलाई कार्यकक्षबाट बाहिरिन दिइएको थियो। यद्यपि यी आरोपबारे सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

विवादको केन्द्रमा रहेका प्रशासन प्रमुख राजाराम तजले साउन ९ गतेदेखि ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।

स्रोतका अनुसार प्रस्तावित विनियमावली पारित भए तजलेको सेवा अवधि थप दुई वर्ष लम्बिनेछ। त्यससँगै उनले करिब १५–१६ लाख रुपैयाँ थप उपदान पाउने अवस्था सिर्जना हुने बताइएको छ।

यही कारण विनियमावली पारित गराउन अस्पतालभित्र तीव्र प्रयास भइरहेको आरोप लागेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077