काठमाडौं । बीमा ऐन सम्बन्धी कसुर, बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गतका कसुरमा पुर्पक्षका लागि थुनामा पठाइएका विवादित व्यवसायी दिपक भट्टको करोडौं पर्ने गाडी जफत भएको छ।
विशेष अदालतले बुधबार उनीविरूद्धको सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै डिल्लीबजार कारागार चलान भएका छन्।
अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले विचौलिया भट्टसहित व्यवसायी सुलभ अग्रवाललाई थुनामा राखेर मुद्दाको थप प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकाल्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले गत बिहीबार भट्ट र अग्रवालसहितका प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो।
अभियोगपत्रअनुसार दीपक भट्टविरुद्ध करिब २६ अर्ब रुपैयाँ र सुलभ अग्रवालविरुद्ध करिब २५ अर्ब रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।
भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै अदालतले उनको ६ करोड ३० लाख रुपैयाँ पर्ने बागमती प्रदेश– ०१–०३३ च १ नम्बरको रेन्ज रोभर गाडीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन आदेश दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अभियोग दायर गर्दा उक्त गाडी पनि पेस गरेको थियो। त्यस्तै, अदालतमा पेस भएका मोबाइललाई अदालतको जिन्सीमा आम्दानी बाँध्न भनिएको छ।
भट्टबाट बरामद भएको विदेशी विनिमय अमेरिकी डलर र थाइ भाट नेपाल राष्ट्र बैंकमा पठाउन पनि भनिएको छ।
भट्ट र अग्रवालविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो। अनुसन्धान गरी उनीहरूविरूद्ध विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरिएको थियो।
बीमा ऐन सम्बन्धी कसुर, बैंकिङ कसुर, सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत कसुर गरेको आरोप उनीहरूमाथि छ। त्यस्तै धितोपत्र सम्बन्धी कसुर र विदेशी विनिमय ऐन सम्बन्धी कसुर अन्तर्गत पनि कसुर गरेको आरोप छ।
भट्टको हकमा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रूपैयाँ बिगो कायम गरेको देखिन्छ। अग्रवालको हकमा २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रूपैयाँ बिगो कायम गरेको थियो।
अदालतको आदेशमा व्यवसायी भट्ट र अग्रवालले वास्तविक धनी लुकाउन र अवैध आयलाई वैध देखाउन जटिल वित्तीय कारोबार गरेको उल्लेख छ ।
जगदम्बा स्टील्सबाट अल्पकालीन कर्जा लिएर दिपक भट्टको व्यक्तिगत खातामा जग्गा बैनाको नाममा रकम पठाइएको र पछि सोही रकम भट्ट सञ्चालक रहेको ‘इन्फिनिटी होल्डिंग्स’ मार्फत हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर खरिदमा प्रयोग गरिएको देखिएको अदालतको ठहर छ। यसलाई अदालतले सम्पत्ति शुद्धीकरणको लेयरिङ प्रक्रिया भनेको छ ।