काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादी दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप गरिएको छ।
विशेष अदालतका अनुसार दीपक भट्टको हकमा आठौँ पटक तथा सुलभ अग्रवालको हकमा नवौँ पटक अनुसन्धानका लागि थुनामा राख्ने अवधि थप गर्ने आदेश भएको हो।
विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र सदस्य न्यायाधीश उमेश कोइरालाको इजलासले तीन दिन म्याद थपको अनुमति दिएको अदालतले जनाएको छ।
मिसिलमा संलग्न कागजात र प्राप्त प्रतिवेदनअनुसार मुद्दाको अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको र राय प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि थप समय आवश्यक देखिएको भन्ने आधारमा अदालतबाट पुनः म्याद थप भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले व्यवसायी भट्टलाई गत चैत १९ गते काठमाडौंबाटै पक्राउ गरेको थियो भने चैत २१ गते सुलभ अग्रवाललाई पक्राउ गरेको थियो।