Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओलीका स्वकीय सचिव बज्राचार्यमाथि अकुत सम्पत्ति आर्जन गरेको आशंका, अख्तियारले थाल्यो छानबिन

ओलीका स्वकीय सचिव बज्राचार्यमाथि अकुत सम्पत्ति आर्जन गरेको आशंका, अख्तियारले थाल्यो छानबिन

सोमवार , जेठ २५, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान सुरु गरेको छ ।

आयोगले बज्राचार्यलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएपछि उनले १३ पृष्ठको सम्पत्ति विवरण फारम भरेर अख्तियारमा बुझाएका छन् । स्रोतका अनुसार बज्राचार्यले गत शुक्रबार सम्पत्ति विवरण पेश गरेका हुन् ।

अख्तियारले भ्रष्टाचार तथा अकुत सम्पत्ति सम्बन्धी अनुसन्धानका क्रममा प्रयोग गर्दै आएको १३ पृष्ठे फारममार्फत स्रोत, आय, चल-अचल सम्पत्ति, बैंक मौज्दात तथा पारिवारिक सम्पत्तिबारे विस्तृत विवरण संकलन गर्ने गरेको छ।

अनुसन्धानका क्रममा सम्पत्तिको स्रोत पुष्टि हुन नसके भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विशेष अदालतमा मुद्दा दायर गर्न सकिने कानुनी व्यवस्था रहेको छ।

बज्राचार्यको नाम यसअघि पनि नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणसँग जोडिएको थियो। यति समूहअन्तर्गतको थामसेर्कु ट्रेकिङले उक्त जग्गा लिजमा लिँदा भएको भनिएको अनियमिततामाथि अनुसन्धानका क्रममा उनको संलग्नताको विषय उठेको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान निष्कर्षअनुसार बज्राचार्य र उनकी पत्नी रश्मी शाक्यले यति समूहबाट भक्तपुरको बालकोटस्थित रोज भिलेज हाउजिङभित्र रहेको घर घुसस्वरूप प्राप्त गरेको आशंका गरिएको थियो। तर, उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा अघि नबढाउने निर्णय गरेको थियो।

पछि सीआईबीले २०८२ पुसमा बज्राचार्यमाथि भ्रष्टाचारसम्बन्धी थप अनुसन्धान आवश्यक रहेको निष्कर्षसहित अख्तियारलाई पत्राचार गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077