Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२३ करोड घोटालामा मुछिए हिमालयन लाइफ इन्स्योरेन्सका सीइओ दाहाल, सीआईबीद्वारा खाता रोक्का

२३ करोड घोटालामा मुछिए हिमालयन लाइफ इन्स्योरेन्सका सीइओ दाहाल, सीआईबीद्वारा खाता रोक्का

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले विचौलिया दीपक भट्ट र सुलभ अग्रवाल जोडिएको कम्पनीका गैरकानूनी कारोबारमाथि छानविन गरिरहेको छ ।

यसैक्रममा अग्रवाल र भट्ट जोडिएको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सीइओ कपिल कुमार दाहालसहित केही उच्च पदाधिकारीहरुमाथि सीआईबीले छानविन थालेको छ ।

स्रोतका अनुसार २३ करोड भन्दा बढी रकम गैरकानूनी रुपमा अग्रवालको निर्देशनमा ट्रान्सफर गरिएको प्रकरणमा दाहालसहित आधा दर्जन पदाधिकारीहरुमाथि छानविन भइरहेको छ ।

सीआईबीले बैशाख २५ गते राष्ट्र बैंकलाई पत्राचार गरी सीइओ दाहालसहितका आधा दर्जन कर्मचारीहरुको बैंक खाता रोक्का गरिसकेको छ ।

दाहालमाथि सीआईबीले बयान समेत लिएको र केही दिन भित्रमै अन्य कर्मचारीहरुलाई पनि बयानमा बोलाउने तयारी भएको स्रोत बताउँछ ।

हिमालयन लाइफ इन्स्योरेन्समा दाहाललाई सुलभ अग्रवालका दाहिने हातका रुपमा लिने गरिन्छ ।

सीआईबीले आफूमाथि छानविन गरी बैंक खाता रोक्का गरेको कुरा अनलाइन नेपालसँगको कुराकानीमा दाहालले स्वीकार गरेका छन् ।

हिमालयन इन्स्योरेन्सको सब्सिडरी कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड हो ।

सुलभ अग्रवाल सञ्चालक रहेको इन्भेष्टमेन्ट क्यापिटलले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. (ब्रोकर नम्बर ५५)को शेयर खरिद गर्दा २३ करोड घोटाला भएको भन्दै सीआईबीले खाता रोक्का गरेको हो ।

हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका तत्कालिन अध्यक्ष कपिल दाहालको मौखिक आदेशमा सीइओ सुमेर शमशेर जबराले भृकुटीको शेयर खरिद गर्ने भन्दै २३ करोड रकम ट्रान्सफर गरेका थिए । तर, शेयर भने खरिद गरिएन ।

यसको मास्टर प्लानर सुलभ अग्रवाल थिए । उनै अग्रवालको स्वार्थमा दाहालले जबरालाई रकम निकाल्न निर्देशन दिएका थिए । उक्त २३ करोड रकम अग्रवाल र दाहालले शेयरका नाममा निकाले पनि कुन प्रयोजनमा खर्च गरे भन्ने बारेमा अनुसन्धान भैरहेको स्रोत वताउँछ।

हिमालयन इन्भेष्टमेन्ट बैंकरबाट उक्त रकम निकाल्दा सीइओ राणाले हस्ताक्षर गरी रकम ट्रान्सफर गरेका कारण एक महिना अघि नै राणालाई उक्त संस्थाबाट अपमानजनक रुपमा निकालिएको थियो ।

तर, आदेश दिने दाहाल भने हिमालयन लाइफ इन्स्योरेन्सको सीइओ बनेका छन् । दाहालको ठाउँमा अहिले लक्ष्मण ज्ञवाली अध्यक्ष छन् ।

हिमालयन इन्भेष्टमेन्ट बैंकरमा हिमालयन लाइफको ७५ प्रतिशत शेयर अर्थात १५ करोड रकम लगानी रहेको छ ।

सुलभ अग्रवालको गैरकानूनीधन्दालाई साथ दिने दाहालमाथि सीआईबीले थप एक्सन लिने तयारी गरेपछि उनी समस्यामा परेका हुन् ।

त्यसो त कारबाहीबाट जोगिनका लागि सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले पक्राउ गर्नु अघि नै  हिमालयन लाईफ इन्स्योरेन्सको अध्यक्ष पदबाट सुलभ अग्रवालले राजीनामा दिएका थिए ।

हिमालयन लाईफ इन्स्योरेन्सको अध्यक्ष भने नारायण बजाजलाई बनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077