काठमाडौं । धितोपत्र तथा बिमासम्बन्धी कसुरमा अभियुक्त बनाइएका बिचौलिया दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई जिल्ला अदालत काठमाडौंले करोडौं रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले सात दिनसम्म चलेको सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गर्दै बिमासम्बन्धी कसुरमा सुलभ अग्रवालसँग दुई करोड रुपैयाँ र दीपक भट्टसँग डेढ करोड रुपैयाँ धरौटी माग गरेको हो।
यस्तै, धितोपत्रसम्बन्धी कसुरमा अदालतले अग्रवालसँग थप डेढ करोड रुपैयाँ तथा भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
यससँगै, नक्कली असाइनमेन्ट (असाइनमेन्ट सम्झौता) तयार गरी हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्री गरेको आरोपमा दायर अर्को मुद्दामा अदालतले सुलभ अग्रवालसँग थप दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ ।
यद्यपि, धरौटी आदेश भए पनि दुवै अभियुक्त तत्काल रिहा हुने छैनन् । उनीहरूलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा यसअघि विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।
