काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेलसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यापारी कमलकिशोर मालपानीमाथि पनि अनुसन्धान तिव्र बनाएको छ।
नीतिगत भ्रष्टाचारको पैसा आफ्नो कम्पनीमा शेयर दिएर सम्पत्ति शुद्धीकरणमा सघाएको कसुरमा उनी तानिएका हुन्। उनका कम्पनीको बदमासी जोगाइदिएवापत तत्कालीन अर्थमन्त्री पौडेललाई मालपानीले तीन करोड ७५ लाख रुपैयाँ बराबरको श्रीराम टोबाको कम्पनीको शेयर दिएका थिए।
बिचौलिया दीपक भट्टको नाममा रहेको सो शेयरको वास्तविक मूल्य भने करिब ३० करोड भएको बताइएको छ । आफ्नो नाममा राख्दा छानबिन हुने भएकाले पौडेलले विश्वासपात्र भट्टको नाममा शेयर राखेका थिए। जून विभागको छानबिनबाट प्रष्ट भइसकेको छ।
यसमा मालपानी र उनको परिवारलाई पनि छानबिनको दायरामा ल्याइइको छ । तर, साक्षी बनाएर उनलाई उन्मुक्ति दिलाउन एक समूह लागिसकेको छ।
त्यसो त मालपानी यसअघि नागरिकता लगायत विभिन्न प्रकरणमा मुछिएका व्यापारी हुन्। उनको नागरिकताको विषयमा विभिन्न निकायमा उजुरी परेपनि छानविन हुन सकेको छैन ।
उनका बुबा बालकृष्ण मालपानी भारतीय हुन्। तर, कमलकिशोरले भने बंशजको आधारमा २०५४ सालमा सप्तरीबाट नागरिकता निकालेका थिए। पछि २०७१ मा रुपन्देहीबाट प्रतिलिपि लिएका थिए।
सप्तरी जिल्लाको नागरिकतोको प्रतिलिपि कसरी रुपन्देहीबाट लिन सफल भए भन्ने विषय पनि रहस्यमय छ।
उनका कम्पनीहरू कर छली लगायत विषयमा पनि मुछिदै आएका छन्। उनको अर्को कम्पनी यशोधा फुड्समाथि कर छलीको आरोपमा अनुसन्धान भइरहेको छ । गत वर्ष उनको कम्पनी श्रीराम टोबाकोाम पनि वािणज्य विभागले छापा हानेर छानबिन थालेकोमा बिचौलिया भट्टमार्फत नै कारबाही रोकाएका थिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा विगतदेखि नै उनीविरुद्ध उजुरी पर्दै आएका थिए। तर, सत्ताको आडमा जोगिदै आएका मालपानीको विषयमा यसपटक भने विस्तृत छानबिन हुने भएको छ।
निर्वाचनमा गाडी सहयोग गरेर बालेनलाई पनि उनले प्रभावित पार्ने प्रयास गरेका थिए। तर, त्यो गाडी विवादास्पद व्यापारीको भएको थाहा पाएलगत्तै बालेनले प्रयोग गर्न छाडेका थिए।
बरु, ती गाडी आयातमा पनि कर छली भएको विषयमा छानबिन भइरहेको छ। उक्त गाडी कानून मिचेर राकेशकुमार अडुकियाले नेपाल भित्र्याएको खुलिसकेको छ ।