काठमाडौं। साताको अन्तिम अर्थात् पाँचौँ कारोबार दिन आज पनि नेप्से एकल अंकले ओरालो लागेको छ।
दिनभर उतारचढाव रहेको नेप्से अन्तत: दुई अंकले घटेको हो। नेप्सेको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा आज ०.०७ प्रतिशतले घट्दै नेप्से २६४९.५१ विन्दुमा रोकिएको छ।
बिहीबार नेप्से ८.५० अंकले घटेको थियो। बुधबार १४.४५ अंकले घटेको थियो भने मंगलबार २६.१६ अंकले घटेको थियो। सोमबार नेप्से १.४६ अंकले घटेको थियो।
नेप्सेमा शुक्रबार ३५९ कम्पनीको ३९ हजार ५४६ पटकको कारोबारमा ७७ लाख २७ हजार ६४९ कित्ता सेयर किनबेच भए। जसअनुसार शुक्रबार तीन अर्ब ९४ करोड ५८ लाख चार हजार ५५२ रुपैयाँको कारोबार भयो। बिहीबार दुई अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ रुपैयाँको कारोबार भएको थियो।
बुधबार चार अर्ब ४१ करोड ८६ लाख सात हजार ४८६ रुपैयाँको कारोबार भएको थियो। मंगलबार चार अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँको कारोबार भएको थियो भने सोमबार चार अर्ब ४४ करोड ६५ लाख २० हजार २४७ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज ८५ कम्पनीका मात्र सेयरमूल्य बढे। १७० कम्पनीका सेयरमूल्य ओरालो लाग्दा २० कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहको कारोबार भएकामा पाँचवटा समूहका सूचक बढे भने बाँकी आठ समूहको सूचक घटे।
जसअनुसार शुक्रबार वाणिज्य बैंक ०.०६‚ विकास बैंक ०.२७ र फाइनान्स समूहको सूचक ०.३१ प्रतिशतले घट्यो। होटेल तथा पर्यटन ०.२३ र जलविद्युत् समूहको सूचक ०.०६ प्रतिशतले बढे।
यसैगरी लगानी ०.५८‚ जीवन बिमा ०.०५‚ उत्पादन तथा प्रशोधन ०.३८ र लघुवित्त समूहको सूचक ०.५६ प्रतिशतले ओरालो लागे। यस्तै म्युचुअल फन्ड ०.२३ र निर्जीवन बिमा समूहको सूचक ०.५४ प्रतिशतले बढेको छ। अन्य समूहको सूचक ०.०७ प्रतिशतले घट्दा व्यापार समूहको उपसूचक भने १.०८ प्रतिशले बढेको छ।
नेप्सेमा शुक्रबार स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गरे। अर्थात् स्नो रिभर्सको सेयरमूल्यमा ‘पोजेटिभ सर्किट’ लाग्यो। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने १०.७६ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज ग्लोबल आईएमईको डिबेन्चर अग्रस्थानमा रह्यो। शुक्रबार यसको ३३ करोड १६ लाख ५७ हजार ३०५ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अगाडि रह्यो। शुक्रबार यसको चार लाख १९ हजार ४२० कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३६२ रुपैयाँ कायम रह्यो।