काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओरालो यात्रा रोकिएको छैन।
साताको चौथो कारोबार दिन आज (बिहीबार) पनि नेप्से एकल अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ८.५० अंकले घटेको हो। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा आज ०.३१ प्रतिशतले घट्दै नेप्से २६५१.५२ विन्दुमा रोकिएको छ। बुधबार नेप्से १४.४५ अंकले घटेको थियो भने मंगलबार २६.१६ अंकले घटेको थियो। सोमबार भने नेप्से १.४६ अंकले घटेको थियो।
नेप्सेमा आज ३३८ कम्पनीको ४६ हजार ७५१ पटकको कारोबारमा ६४ लाख ८० हजार ५९९ कित्ता सेयर किनबेच भए। जसअनुसार दुई अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ रुपैयाँको कारोबार भयो। बुधबार भने चार अर्ब ४१ करोड ८६ लाख सात हजार ४८६ रुपैयाँको कारोबार भएको थियो। मंगलबार चार अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँको कारोबार भएको थियो भने सोमबार चार अर्ब ४४ करोड ६५ लाख २० हजार २४७ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज ८३ कम्पनीका मात्र सेयरमूल्य बढे। १७२ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १९ कम्पनीका सेयरमूल्य स्थिर रहे। १३ समूहको कारोबार भएकामा उत्पादन तथा प्रशोधन समूहको सूचक मात्र बढ्दा बाँकी १२ समूहका सूचक राताम्मे बने।
जसअनुसार वाणिज्य बैंक ०.१९‚ विकास बैंक ०.१५‚ फाइनान्स ०.३६‚ होटेल तथा पर्यटन ०.५३‚ जलविद्युत् ०.४१‚ लगानी ०.१६ र जीवन बिमा समूहको सूचक ०.२२ प्रतिशतले ओरालो लागेको छ। यस्तै उत्पादन तथा प्रशोधन समूहको सूचक ०.१४ प्रतिशतले बढ्दा लघुवित्त ०.१५‚ म्युचुअल फन्ड ०.१४‚ निर्जीवन बिमा ०.४०‚ अन्य ०.४७ र व्यापार समूहको उपसूचक १.९६ प्रतिशले घट्यो।
नेप्सेमा आज टक्सार पिखुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र याम्बालिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। भुजुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने ११.०३ प्रतिशतले सेयरमूल्य गुमाए।
यसैगरी कारोबार रकमका आधारमा आज सोपान फर्मास्युटिकल्स लिमिटेड अग्रस्थानमा रह्यो। बिहीबार यसको १२ करोड ७७ लाख २५ हजार ४२७ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अगाडि रह्यो। बिहीबार यसको दुई लाख ८१ हजार ३१९ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३६६ रुपैयाँ कायम रह्यो।