काठमाडौं । कक्षा १२ को नतिजालाई लिएर देशभर विद्यार्थीको असन्तुष्टि बढिरहेका बेला शिक्षा तथा खेलकुद मन्त्रालयले नतिजामा देखिएको भनिएको त्रुटिबारे थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ।
मन्त्रालयका अनुसार शिक्षा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क (मार्क्स_ तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्नेछ।
समितिले नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि भए–नभएकोबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।
उनीहरूले उत्तरपुस्तिकाको पुनर्योग (रिटोटलिङ) र पुनःपरीक्षण (रिचेकिङ) का लागि तोकिएको शुल्क अत्यधिक महँगो र अव्यावहारिक रहेको भन्दै त्यसमा पनि पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।
यस वर्ष वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीमध्ये १ लाख ४ हजार ७ सय ११ जना ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन्।