Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षा मन्त्रालयले ल्यायो नयाँ कार्यतालिका : अब विद्यालयमा दुई दिन बिदा, हिउँदे र बर्से बिदा घटाइयो

शिक्षा मन्त्रालयले ल्यायो नयाँ कार्यतालिका : अब विद्यालयमा दुई दिन बिदा, हिउँदे र बर्से बिदा घटाइयो

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । सरकारले विद्यालयमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याउने तयारीसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक कार्यतालिका जारी गरेको छ ।

मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार परिपत्र जारी गर्दै शैक्षिक सत्र २०८३ देखि विद्यालयहरूले पठनपाठनको समय, बिदा र मूल्याङ्कन प्रणाली नयाँ ढाँचाअनुसार व्यवस्थापन गर्नुपर्ने जनाएको हो ।

मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते गरेको निर्णयअनुसार अब विद्यालयमा सातामा दुई दिन बिदा हुनेछ । सोही निर्णय कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र देशभरका विद्यालयहरूलाई नयाँ कार्यतालिका लागू गर्न निर्देशन दिइएको छ ।

केन्द्रले जारी गरेको परिपत्रअनुसार अब विद्यालयहरूले स्वीकृत पाठ्यक्रमले तोकेको कार्यघण्टा मिलाएर सोमबारदेखि शुक्रबारसम्म नियमित पठनपाठन सञ्चालन गर्नुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार विद्यालयमा दिइँदै आएको हिउँदे र बर्से बिदा अब ४५ दिनबाट घटाएर ३० दिनमा सीमित गरिएको छ । दुई दिन बिदाको व्यवस्थापन गर्न वार्षिक शैक्षिक समयतालिकामा कटौती गरिएको मन्त्रालयको भनाइ छ ।

विद्यालयहरूले हरेक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय छुट्याउनुपर्ने व्यवस्था गरिएको छ । यसबाहेक बाँकी समय पूर्ण रूपमा पठनपाठन तथा सिकाइसम्बन्धी क्रियाकलापमा प्रयोग गर्नुपर्नेछ ।

शिक्षा मन्त्रालयले अब शुक्रबारलाई परियोजना तथा प्रयोगात्मक सिकाइमा केन्द्रित गर्न विशेष जोड दिएको छ । परिपत्रअनुसार समुदाय, परिवार, सूचना प्रविधि र सन्दर्भ सामग्रीसँग जोडिएका बहुविषयक परियोजना कार्य विद्यार्थीलाई दिइनेछ । आवश्यकताअनुसार विद्यार्थीलाई प्रस्तुति गर्ने अवसरसमेत प्रदान गरिनेछ ।

परियोजना कार्य सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ प्रयोग गर्न सकिने जनाइएको छ ।

पहिलो र दोस्रो त्रैमासिकको आन्तरिक मूल्याङ्कन पठनपाठन भइरहेकै दिन वा कक्षामा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै, अन्तिम परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन छुट्याउनुपर्ने परिपत्रमा उल्लेख छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077