एजेन्सी । अमेरिका–इरानबीचको सैन्य तनाव थप चर्किँदै गएको छ । अमेरिकाले लगातार नवौँ रात इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार होर्मुज जलमार्ग हुँदै सञ्चालन हुने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्न प्रयोग भइरहेको इरानको सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले कारबाही गरिएको हो।
इरानी समाचार एजेन्सी तस्निमलाई उद्धृत गर्दै अलजजिराले जनाएअनुसार अमेरिकी सेन्टकमले नयाँ हवाई आक्रमणको घोषणा गरेको केही समयमै इरानका दुई प्रमुख बन्दरगाहसहित पाँचवटा सहरमा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्। यद्यपि, आक्रमणबाट भएको क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मारिएका अमेरिकी सैनिकहरूको सम्मानमा इरानविरुद्ध कडा सैन्य कारबाही जारी राखिएको बताएका छन्।
फिफा विश्वकप–२०२६ को फाइनल खेल हेरेर वासिङ्टन फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'हामीले आज राति फेरि उनीहरूमाथि निकै ठूलो प्रहार गर्यौँ। यो हाम्रा सम्भवतः तीनजना महान् देशभक्त सैनिकहरूको सम्मानमा गरिएको हो।'
इरानसँगको द्वन्द्वमा अमेरिकी सैन्य हताहतीबारे सोधिएको प्रश्नमा उनले दुःख व्यक्त गर्दै भने, 'त्यहाँ ज्यान गुमाउनेहरू इरानले परमाणु हतियार बनाउन नसकोस् भनेर लडिरहेका थिए।'