Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

अमेरिकी आक्रमणपछि इरानको जवाफी कदम, चार देशमा एकसाथ हमला

अमेरिकी आक्रमणपछि इरानको जवाफी कदम, चार देशमा एकसाथ हमला

कुवेत,ओमान, बहराइन र जोर्डनमाथि ड्रोन आक्रमण

आइतवार , आषाढ २८, २०८३

एजेन्सी। अमेरिकी हवाई आक्रमणको प्रतिकारस्वरूप इरानले आइतबार बहराइन र कुवेतलाई लक्षित गर्दै ड्रोन तथा मिसाइल आक्रमण गरेको जनाएको छ। 

अमेरिकी केन्द्रीय कमाण्ड 'सेन्टकम' ले इरानका निगरानी प्रणाली, सञ्चार पूर्वाधार, हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा सैन्य संरचनामाथि हवाई आक्रमण गरेको थियो। त्यसको प्रतिकारस्वरूप इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य स्वार्थलाई लक्षित गर्दै मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको हो।

इरानी रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य कारबाही जारी रहे युद्ध अन्त्यका लागि भइरहेका सबै वार्ता रोक्ने चेतावनीसमेत दिएको छ।

कुवेतले आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत अधिकांश ड्रोन र मिसाइल निष्क्रिय पारिएको जनाएको छ भने बहराइनले उक्त आक्रमणलाई आफ्नो सार्वभौमिकता र नागरिक सुरक्षामाथिको आक्रमण भन्दै कडा निन्दा गरेको छ।

उता इरानले आज बिहान जोर्डनतर्फ तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।

जोर्डनको सरकारी समाचार एजेन्सी ‘पेट्रा’का अनुसार ती तीनवटै मिसाइल फरक–फरक स्थानमा खसेका छन्। घटनामा कुनै मानवीय क्षति नभएको र सामान्य भौतिक क्षति मात्र भएको जनाइएको छ।

यसैगरी इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच ओमान पनि पछिल्लो घटनाक्रमको चपेटामा परेको छ। ओमान सरकारले मुसन्दाम गभर्नरेटमा ड्रोन आक्रमण भएको पुष्टि गर्दै घटनाको कडा निन्दा गरेको छ।

आक्रमणबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल सार्वजनिक गरिएको छैन। चारै मुलुकमा अमेरिकी सैन्य अड्डा रहेका छन्।

इरानका अनुसार उक्त आक्रमणमा एयरबेसको कमान्ड तथा कन्ट्रोल सेन्टर र एमक्यू- ड्रोन राखिएका ह्याङ्गरहरू ध्वस्त भएका छन्।

यसैबीच, होर्मुज जलडमरूमध्य आसपासको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ। अमेरिका र इरानबीच भएको अन्तरिम सहमतिअनुसार विश्वको महत्वपूर्ण तेल तथा प्राकृतिक ग्यास आपूर्ति मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा जहाजहरूको नियमित आवतजावत पुनः सञ्चालन गर्ने सहमति भएको थियो ।

तर उक्त क्षेत्रमा बढ्दो सैन्य गतिविधिले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप चिन्ता बढाएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई हमला इरानका तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि दुवै देशहरुबीच युद्ध हुँदै आएको छ ।

खामेनीका छोरा मोज्तबा खामेनीले शनिबार जारी गरेको लिखित सन्देशमा आफ्ना बुबाको हत्याको बदला जुनसुकै अवस्थामा पनि लिइने चेतावनी दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077