एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानबीच जारी सैन्य तनाव अन्त्य गर्ने उद्देश्यसहित युद्धविरामसम्बन्धी अस्थायी सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ।
इरानको सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार इरानी राष्ट्रपति मसूद पेजेस्कियान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान ५:१५ बजे फ्रान्सको ऐतिहासिक भर्साइल्स दरबारमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
आइआरएनएले सार्वजनिक गरेका तस्बिरहरूमा राष्ट्रपति पेजेस्कियानले सम्झौतापत्रमा हस्ताक्षर गरिरहेको तथा राष्ट्रपति ट्रम्पले आफ्नो हस्ताक्षर भएको दस्तावेज प्रदर्शन गरिरहेको देखिन्छ।
यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि सामाजिक सञ्जालमार्फत भर्साइल्स दरबारमा ट्रम्पले सम्झौतामा हस्ताक्षर गरेको भिडियो सार्वजनिक गरेका छन्।
सम्झौतामा इरानसँगको युद्ध अन्त्य गर्ने, लेबनानमा जारी द्वन्द्व समाधानका लागि पहल गर्ने, होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने तथा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषय समेटिएको जनाइएको छ।
यसअघि उक्त शान्ति सम्झौतामा जुन १९ मा स्विट्जरल्यान्डको लुसर्न नजिकै हस्ताक्षर हुने तयारी थियो। तर अन्तिम समयमा कार्यक्रम परिवर्तन गर्दै निर्धारित मितिभन्दा एक दिनअघि फ्रान्सको भर्साइल्स दरबारमै सम्झौतामा हस्ताक्षर गरिएको हो।