एजेन्सी । अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एडवर्ड्स एयर फोर्स बेसबाट उडान भरेको केही समयमै अमेरिकी वायुसेनाको बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार सोमबार बिहान ११ः२० बजे नियमित परीक्षण उडानमा रहेको विमान दुर्घटनामा परेको हो । दुर्घटनापछि आकाशमा बाक्लो कालो धुवाँको विशाल मुस्लो देखिएको थियो, जुन घटनास्थलबाट धेरै माइल टाढासम्म स्पष्ट देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
दुर्घटनापछि उद्धार तथा अनुसन्धान टोली तत्काल परिचालन गरिएको भए पनि विमानमा सवार कसैको पनि ज्यान बच्न नसकेको प्रारम्भिक जानकारी सार्वजनिक गरिएको छ।
एडवर्ड्स एयर फोर्स बेसका कमाण्डर जेम्स हेयसले पत्रकार सम्मेलनमा गहिरो दुःख व्यक्त गर्दै भने, “आज एडवर्ड्स एयर फोर्स बेसले एक भयावह त्रासदी भोगेको छ। हामीले आठ महान् अमेरिकी गुमाएका छौँ।”
उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा सैन्य कर्मचारी, सरकारी कर्मचारी तथा सरकारी ठेकेदारहरू रहेका छन्। मृतकहरूको पहिचान भने परिवारलाई जानकारी गराएपछि मात्रै सार्वजनिक गरिने बताइएको छ।