एजेन्सी । अमेरिकाको सान डिएगो स्थित मस्जिदमा भएको गोली प्रहारमा पाँच जनाको मृत्यु भएको छ । घटनामा एक सुरक्षा गार्डसहित दुई जना सन्दिग्ध पनि मारिएका छन् ।
प्रहरीका अनुसार मारिएका सन्दिग्ध दुवै किशोर रहेका छन्—एक १७ वर्षका र अर्का १९ वर्षका । उनीहरू मस्जिद नजिकैको कारमा मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानमा दुवैले आफैँलाई गोली हानेको अनुमान गरिएको छ।
घटना सान डिएगो काउन्टीकै सबैभन्दा ठूलो धार्मिक केन्द्रमध्ये एक इस्लामिक सेन्टर अफ सान डिएगो मा भएको हो। परिसरभित्र विद्यालयसमेत रहेको र त्यहाँ बालबालिकालाई अरबी भाषा, इस्लामिक अध्ययन र कुरान पढाइ हुने बताइएको छ।
प्रत्यक्षदर्शीहरूले घटनाका क्रममा करिब ३० राउन्ड गोली चलेको बताएका छन्। एक प्रत्यक्षदर्शीले सीबीएस न्युजसँग भने, “मैले करिब ३० गोलीको आवाज सुनेँ, यो अर्ध(स्वचालित हतियारबाट चलेको जस्तो लाग्थ्यो।”
घटनालाई लिएर अनुसन्धान घृणा अपराधको कोणबाट अघि बढाइएको प्रहरीले जनाएको छ। आक्रमणको वास्तविक उद्देश्य भने हालसम्म स्पष्ट हुन सकेको छैन।
डोनाल्ड ट्रम्प ले घटनालाई ‘भयानक’ भन्दै गम्भीरतापूर्वक अनुसन्धान गरिने बताएका छन्।