एजेन्सी । अमेरिका र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेको छ ।
अमेरिकाले इरानको दक्षिणी तटीय क्षेत्रमा सैन्य आक्रमण गर्दै पुनः नौसैनिक नाकाबन्दी घोषणा गरेपछि इरानले दुवै देशबीच भएको शान्ति सम्झौता अब प्रभावहीन भएको घोषणा गरेको हो ।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिकासँग भएको इस्लामाबाद सम्झौता (एमओयू) अब समाप्त भएको स्पष्ट पारेका छन् । बीबीसीका अनुसार उनले भने, “अब इस्लामाबाद सम्झौताजस्तो कुनै चिज छैन।”
बुधबार बिहान दक्षिणी इरानका विभिन्न क्षेत्रमा लगातार विस्फोट भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
त्यसको जवाफस्वरूप इरानले कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ।
गत जुन महिनामा अमेरिका र इरानले स्थायी रूपमा युद्ध अन्त्य गर्ने उद्देश्यसहित इस्लामाबाद सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए ।