काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेलले १२ करोड ७५ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको हो ।
अदालतको फैसलाअनुसार पौडेलको वैध आम्दानी २ करोड २१ लाख रुपैयाँ मात्रै देखिएको छ । तर, उनको नाममा १४ करोड ५७ लाख रुपैयाँ बराबरको सम्पत्ति फेला परेपछि त्यसमध्ये १२ करोड ७५ लाख रुपैयाँको स्रोत पुष्टि गर्न नसकेको अदालतले निष्कर्ष निकालेको हो।
सोही आधारमा अदालतले उनलाई गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार कसुरमा २ वर्ष कैद सजाय तोकेको छ। साथै, विशिष्ट श्रेणीको सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै थप ६ महिनाको कैद सजाय पनि सुनाएको छ। यससँगै उनले कुल २ वर्ष ६ महिना कैद भोग्नुपर्नेछ।
अदालतले पौडेललाई अपराध पीडित संरक्षण कोषमा ५१ लाख रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएको छ। राष्ट्रिय भुक्तानी प्रणाली भ्रष्टाचार मुद्दामा यसअघि नै दोषी ठहर भइसकेका पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको अभियोगमा यो दोस्रो मुद्दा दायर गरेको थियो।