काठमाडौं । नेपालमा विवादै विवादमा मुछिएको एनसेल आजियटा कम्पनीका सञ्चालकमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले यसका मुख्य सञ्चालक शतिसलाल आचार्य र उनका भाइ सचिनलाललगायतमाथि छानबिन थालेको हो ।
पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा अध्यक्षताको एक समितिको प्रतिवेदनका आधारमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालिएको सिआइबीका एक अधिकारीले अनलाइन नेपालसँग बताए ।
बालेन शाह नेतृत्वको सरकारले गत महिना सो प्रतिवेदन कार्यान्वायन गर्न सिआइबीलाई पत्राचार गरेको थियो । यसलाई सरकारले आफ्नो सय दिनको उपलब्धि सूचीमा पनि राखेको छ ।
शर्मा नेतृत्वको छानबिन समितिले मुख्यगरी एसनेलको शेयर बिक्रीमा भएको बदमासीमा केन्द्रीत भएर अनुसन्धान गरेको थियो।
मलेसियन कम्पनी आजियटाबाट शतिसलाल आचार्यको बेलायतमा दर्ता भएको कम्पनी स्पेक्ट्रलाइट यूकेले खरिद गरेको थियो । ८० प्रतिशत शेयर जम्मा पाँच करोड अमेरिकी डलरमा खरिद बिक्री भएको थियो।
अत्याधिक नाफा कमाउने कम्पनीको शेयर त्यती न्युन मुल्यमा बिक्रीमा ठूलो सेटिङको आरोप लागेको छ। त्यतीबेला सिंगो सरकारलाई नै आचार्यको समुहले प्रभावमा पारेर शेयर हस्तान्तरण गरेको थियो।
जसकारण पूँजीगत लाभकर छलीको विषयमा छानिबन हुन सकेन । आचार्य नेतृत्वको छानबिन समितिले यो शेयर खरिद बिक्रीलाई शंकास्पद मात्र भनेको छैन, सन्देहपूर्ण भन्दै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत छानबिन गर्न भनेको थियो।
सोहीअनुसार हालै सिआइबीले फाइल खोलेको हो। यसरी शेयर खरिद गर्नुअघि आचार्यले स्पेक्ट्रलाइट यूके एक डलर लगानीमा स्थापना गरेको छानबिनमा खुलेको थियो।
आचार्य सिंगापुरका नागरिक हुन् । उनले सिंगापुरको कम्पनीबाट खरिद नगरी नयाँ कम्पनी खडा गरेर त्यसरी शेयर खरिद गरेका थिए।
यसमा अरबौंको चलखेल भएको आरोप लाग्दै आएको छ। उनको सन्देहपूर्ण कारोबारमा सम्पत्ति शुद्धीकरण आकर्षित हुने सरकारको निष्कर्ष छ। यसमा उनकी श्रीमती भावनासिंह श्रेष्ठ समेत तानिने निश्चित छ। श्रेष्ठको भने नागरिकता नेपालकै छ ।
अवैध सम्पत्ति लुकाउनकै लागि आचार्यले भने बेलायतको नागरिकता लिएका छन्। आचार्यमाथि स्मार्ट सेलको सम्पत्ति हिनामिनामा पनि छानबिन भइरहेको छ। राजस्व नतिरेपछि स्मार्ट सेलको लाइसेन्स खारेज भएको थियो।
लाइसेन्स खारेज भएपछि कम्पनी सरकारको स्वामित्वमा गइसकेको अवस्थामा कम्पनीका करिब पाँच अर्ब बराबरको उपकरण लिलाम गरिएको थियो। यसमा सिआइबीले विस्तृत छानबिन गरिरहेको छ।
एनसेलको कार्यालयमा समेत छापा हानेर यससम्बन्धि कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान अन्तिम चरणमा पुगेको छ। तर, अझै पनि एनसेलका उच्च अधिकारी भने पक्राउ परेका छैनन्।
सिआइबीले स्मार्ट सेलका सर्वेश जोशीसहित नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ लगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। तर, एनसेलका अधिकारीलाई पक्राउ गर्ने बेला एक्कासी अनुसन्धान लम्बिएको थियो ।
स्मार्ट सेल हाल एनसेलका सञ्चालक रहेका सतिशलाल आचार्यकै हो। आफन्त सर्वेशलाई उनले शेयर हस्तान्तरण गरेका थिए।