Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सीआईबीले कारबाही गरेको कम्पनी नै टेलिकमको इमेल सेक्युरिटीको ठेक्का हत्याउँदै

सीआईबीले कारबाही गरेको कम्पनी नै टेलिकमको इमेल सेक्युरिटीको ठेक्का हत्याउँदै

मंगलवार , जेठ १९, २०८३

काठमाडौ । दूरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा ठूलो आर्थिक चलखेल गरी सेटिङ गर्दै आएको समूह नै स्मार्ट सेलको घोटालामा संलग्न देखिएको छ । 

नेपाल टेलिकमका तत्कालिन प्रवन्ध निर्देशक सुनिल पौडेलसँगै भ्रष्टाचार मुद्दा खेपिरहेका वल्र्ड डिष्ट्रिब्युसन नेपाल (डब्ल्युडीएन)का सञ्चालक अरुण श्रेष्ठ स्मार्ट सेलको अनियमितता प्रकरणमा मुछिएका हुन् । 

उनकी श्रीमती पलिना श्रेष्ठलाई स्मार्ट सेलको ५ अर्ब घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

श्रेष्ठले नै श्रीमतीको नाममा ट्रान्सगेट टेक प्रालि नामक कम्पनी दर्ता गरी स्मार्ट सेलको लिलामीमा संलग्न गराएका थिए । 

खासमा एनसेललाई लिलाम सकार्नका लागि प्रक्रिया पूरा गराउन मात्रै सो कम्पनीले एनसेल आजियाटाका सञ्चालक शतिशलाल आचार्य र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ ज्योतीप्रकाश पाण्डेको सेटिङमा लिलामीमा भाग लिएको थियो ।

palina.jpg

शतिशलाल र अरुणले सूचना प्रविधिको क्षेत्रमा साझेदारीमा काम गर्दै आइरहेका छन् । सोही प्रकरणमा मिलेमतो देखिएको भन्दै पलिनालाई सीआइबीले पक्राउ गरेको थियो ।

वल्र्ड डिष्ट्रिब्युसन नेपालका सञ्चालक श्रेष्ठविरुद्ध सूचना प्रविधि केन्द्रको भ्रष्टाचारमा गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । 

श्रेष्ठविरुद्ध ‘हाई कम्प्युटर इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा मिलेमतो गरी गुणस्तरहीन सामग्री आपूर्ति गरेर राज्यलाई १५ करोड ८८ लाख ५० हजार रुपैयाँ हानी पु¥याएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । 

जसमा अरुणसँगै सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल लगायतलाई प्रतिवादी बनाइएको छ । यो मुद्दा बिशेष अदालतमा अझै विचाराधीन छ । 

उता, श्रेष्ठको सेटिङ भने रोकिएको छैन । अहिले पनि श्रेष्ठले सेटिङमा नेपाल टेलिकमको ठूला ठेक्का हात पारेको स्रोत बताउँछ । 

हालै मात्र पलिना सञ्चालक रहेको ट्रान्सगेट टेक प्रालिले टेलिकमको इमेल सेक्युरिटी गेटवे सिस्टमको ठेक्का हात पारेको छ । 

अनलाइन नेपाललाई प्राप्त जानकारी अनुसार टेलिकमका उच्च अधिकारीहरुको मिलेमतोमा प्राविधिक रुपमा फेल भएको उक्त कम्पनी टेलिकमको इमेल सेक्युरिटी हेर्ने छनौटमा परेपछि सीआईबीको कारबाही नै कमजोर बनेको छ ।

notic.jpg

अझ अचम्म त के छ भने एनसेल र स्मार्ट सेलको घोटालामा मुछिएको कम्पनीले टेलिकमको संवेदनशिल मानिने इमेल सेक्युरिटी हेर्ने जिम्मा पाउन लागेपछि टेलिकमकै उच्च अधिकारीहरु आश्चर्यचकित भएका छन् । 

यसमा टेलिकमकी निमित्त प्रवन्ध निर्देशक रीना डंगोलको कार्यक्षमतामाथि समेत प्रश्नचिन्ह खडा भएको छ । 

कार्यकाल सकिन लागेकी डंगोललाई अवैध कल वाइपास प्रकरणमा जेल बसेका मनिन्द्रराज मल्ल तथा लोकेन्द्र कार्कीहरुले पनि सहयोग गर्दै आइरहेका छन् । 

यता, टेलिकमको ठेक्का हत्याउँदै आएकी पलिनासँगै अरुणलाई पनि सीआईबीले छानबिनको दायरामा ल्याएको छ । लाइसेन्स खारेज भइसकेसँगै स्मार्ट टेलिकमको करिब पाँच अर्बका उपकरण तीन वर्षअघि नै सरकारको नाममा आइसकेको थियो । 

इन्भेष्टमेन्ट बैंकले कर्जा उठाउने भन्दै मिलेमतोमा गत असोजमा ती उपकरण लिलाम गरिएको थियो । मिलेमतोमा एनसेलले लिलाम सकार्याे । एनसेलका मुख्य लगानीकर्ता शतिललाल आचार्य नै स्मार्ट सेलका पनि सञ्चालक हुन् । 

स्मार्टका पछिल्ला सञ्चालक सर्वेश जोशी उनकै आफन्त हुन् । जसकारण मिलेमतोमै लिलामी भएको प्रष्टै हुन्छ । 

लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट बैंक समेत मिलेको प्रष्ट भइसकेपछि सीआइबीले सो बैंकका सीइओ ज्योतीप्रकाश पाण्डेलाई समेत पक्राउ गरिसकेको छ । लिलामीमा सहभागी बैंकका केही कर्मचारीहरु भने फरार छन् । 

हाजिरी जमानीमा छुटेका पाण्डे अझै अनुसन्धान प्रभावित पार्ने खेलमा गिरोहलाई परिचालन गरिरहेका छन् । त्यस्तै, एनसेलका सञ्चालकद्वय शतिशलाल आचार्य र उनका भाइ सचिनलाल तथा व्यवस्थापन तहमा रहेका केही कर्मचारीहरु पनि सीआइबीको छानबिनमा छन् । 

पक्राउ परेका सर्वेश जोशी भने महान्यायाधिवक्ता कार्यालयमा सेटिङ मिलाएर गत साता हाजिरी जमानीमा छुटिसकेका छन् । पक्राउ परेका सबै आरोपीहरु छुटेपछि सीआइबीको अनुसन्धान प्रभावित भएको त होइन ? भन्ने गम्भीर प्रश्न उब्जिएको छ । 

यद्यपी प्रधानमन्त्री कार्यालयले यसमा संलग्न कसैलाई उन्मुक्ति नदिन निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयकै पत्रका आधारमा यस प्रकरणको सीआइबीले अनुसन्धान गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077