मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका दुई शिक्षक र एक सवारी चालक छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विद्यालयका सवारी चालक सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, शिक्षक सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार छात्रामाथि अनुचित व्यवहार गरेको आरोपबारे अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाउने तथा शिक्षकको मर्यादाविपरीत व्यवहार गरेको भन्ने उजुरी आएको थियो ।
सोही उजुरी र घटनाको विरोधमा विद्यार्थीहरूले आन्दोलन गर्ने तयारी गरेपछि प्रहरीले आरोपित तीन जनालाई पक्राउ गरेको जनाएको छ।
घटनामा यौनजन्य दुर्व्यवहारको सम्भावनालाई समेत ध्यानमा राखेर अनुसन्धान भइरहेको छ।
पीडित तथा सम्बन्धित पक्षसँग बयान लिने, प्रमाण संकलन गर्ने र घटनाको वास्तविकता पत्ता लगाउने काम जारी रहेको छ।
साथै प्रहरीले घटनासम्बन्धी थप अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।