काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद्का कारण हुने मानवीय तथा भौतिक क्षति कम गर्न राहत, उद्धार र विपद् व्यवस्थापनका कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिए।
उनले मनसुन सुरु भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना बढ्न थालेको उल्लेख गर्दै सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा राख्न आग्रह गरे।
'मनसुनसँगै बाढी, पहिरो तथा डुबानका घटना बढ्न थालेका छन्। यस्ता विपद्बाट हुन सक्ने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी पूर्वतयारी, राहत, उद्धार तथा सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,' उनले संसद्मा भने।
सभामुख अर्यालले विपद्को समयमा नागरिकको सुरक्षित आवागमन सुनिश्चित गर्न सडक तथा सवारी सञ्चालनको व्यवस्थापनमा पनि विशेष ध्यान दिन सरकारलाई सचेत गराए।