कैलाली । सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन्।
आज अन्तर व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा बोल्दै उनले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन तीनै तहबीच सहकार्य मजबुत हुनुपर्ने बताएका हुन् ।
तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिँदै सभामुखले भने- 'तीनवटै तहका सरकारले बनाउने कानुन नबाझिने गरी काम गर्न म प्रतिबद्ध छु। सबैसँग समन्वय, सहकार्य गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु। आपसी समन्वय र सहकार्यले मात्र जनताका अपेक्षालाई बुझेर काम गर्ने वातावरण बन्नेछ।'
सभामुख अर्यालले तीन तहका सरकारबीच नबाझिने गरी कानुन निर्माण गर्नुपर्ने उल्लेख गर्दै आफू समन्वय र सहकार्यमा प्रतिबद्ध रहेको बताए ।
उनले लक्षित वर्गलाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यान्वयन तहले कानुनबारे पछि मात्र थाहा पाउने अवस्थाले समस्या सिर्जना गरेको बताए । त्यसैले सरोकारवालासँग समन्वय गरेर मात्र कानुन निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
यसैबीच उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम प्रदेश पुगेका सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा निर्माण गरिने प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गरेका छन् ।
त्यसक्रममा उपसभामुख रूबी कुमारी तथा राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारीसमेत सहभागी थिए ।
उनीहरूले धार्मिक, पर्यटकीय तथा आर्थिक दृष्टिले महत्त्वपूर्ण भक्केनी धाम, ब्रह्मदेव, महेन्द्रनगर विमानस्थल तथा शुक्लाफाँटा वन्यजन्तु आरक्षण क्षेत्र र टनकपुर क्षेत्रको समेत अवलोकन गरेका थिए ।
सम्मेलनमा सङ्घीय संसद्का दुवै सदन र सातवटै प्रदेशसभाका सभामुख सहभागी रहेका छन्। सम्मेलन भोलि सम्पन्न हुनेछ।