Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

हर्मुजमा फेरि नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

हर्मुजमा फेरि नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

मंगलवार , आषाढ ३०, २०८३

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै संवेदनशील समुद्री मार्गमध्ये एक हर्मुज स्ट्रेटमा ‘इरानी नाकाबन्दी’ पुनः लागू गर्ने घोषणा गर्दै उक्त जलमार्ग प्रयोग गर्ने मालवाहक जहाजबाट २० प्रतिशत शुल्क असुल्ने निर्णय गरेका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले हर्मुज स्ट्रेट खुला रहने तर इरान तथा इरानसँग सम्बन्धित जहाजहरूको आवागमन रोक्न ‘इरानी नाकाबन्दी’ पुनः लागू गरिने बताएका छन् ।

उनले लेखेका छन्, 'हर्मुज स्ट्रेट खुला छ र इरानका साथ वा ऊबिना पनि खुला रहनेछ। ‘इरानी नाकाबन्दी’को उद्देश्य इरानी जहाज वा उसका ग्राहकका जहाजलाई मात्र आवतजावत गर्न नदिने हो। अन्य सबै देशले भने यो जलमार्ग स्वतन्त्र र निष्पक्ष रूपमा प्रयोग गर्न पाउनेछन्।'

ट्रम्पले अबदेखि अमेरिकालाई ‘हर्मुज स्ट्रेटको संरक्षक’ का रूपमा प्रस्तुत गर्दै यस समुद्री मार्गको सुरक्षामा लाग्ने खर्च व्यवस्थापन गर्न हर्मुज प्रयोग गर्ने प्रत्येक मालवाहक जहाजबाट २० प्रतिशत शुल्क लिने व्यवस्था तत्काल लागू गर्ने प्रक्रिया सुरु हुने बताएका छन्।

अमेरिकी सेनाका अनुसार राष्ट्रपति ट्रम्पको निर्देशनपछि मंगलबार राति ८ बजेदेखि इरानी बन्दरगाहतर्फ लक्षित नाकाबन्दी पुनः लागू गरिनेछ।

यता इरानले भने अमेरिकी कदमलाई अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएको छ। इरानको शीर्ष सैन्य मुख्यालय ‘खात्म अल-अन्बिया’ ले विज्ञप्ति जारी गर्दै हर्मुज स्ट्रेटमा अमेरिकाको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएको हो।

इरानी सैन्य मुख्यालयले 'हर्मुज स्ट्रेटमा अमेरिकाको बारम्बारको गतिविधिले सम्पूर्ण क्षेत्रीय सुरक्षालाई गम्भीर जोखिममा पारेको' भन्दै अमेरिकालाई उक्त समुद्री मार्ग नियन्त्रण गर्न कहिल्यै अनुमति नदिइने स्पष्ट पारेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077