काठमाडौं । नेपाली कांग्रेसले विभिन्न सञ्चारगृह तथा पार्टी सभापति गगनकुमार थापाको निजी निवासअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार जारी विज्ञप्तिमा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सभापति गगन थापाको निजी निवास, प्रमुख सञ्चारगृहका प्रवेशद्वार तथा व्यवसायीहरूको नियमित आवागमन हुने क्षेत्रमा अपरिचित व्यक्तिहरूले सवारीसाधन तेर्स्याएर आवागमन अवरुद्ध गर्नु गम्भीर विषय भएको बताएका हुन् ।
'नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निजी निवास, लोकप्रिय मिडिया हाउसको प्रवेशद्वार तथा व्यवसायीहरूको नियमित आवागमन हुने कार्यक्षेत्रमा अपरिचित व्यक्तिहरूले सवारीसाधन तेर्स्याई आवागमन अवरुद्ध गरी आतंकित गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले घटनालाई स्वतन्त्र अभिव्यक्ति, लोकतान्त्रिक गतिविधि, विधिको शासन र नागरिक स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको ठहर गर्दै यस्तो प्रवृत्तिको घोर निन्दा तथा भर्त्सना गरेको छ।
विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न तथा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ।
साथै, कांग्रेसले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सम्पूर्ण लोकतन्त्रवादी शक्ति, सञ्चारजगत्, नागरिक समाज र आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भएर सशक्त प्रतिवाद गर्न आह्वान गरेको छ।