काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह, सार्वजनिक स्थल तथा राजनीतिक नेताको निवासअगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
सोमबार बिहान कान्तिपुर मिडिया हाउस, हिमालयन टेलिभिजन र अनलाइनखबरको कार्यालयअगाडि सडक अवरुद्ध हुने गरी गाडी पार्क गरिएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राउतले यस्ता घटनालाई सामान्य रूपमा लिन नहुने बताएका हुन् ।
उनले अनामनगरस्थित भाटभटेनी सुपरमार्केट र नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि शंकास्पद रूपमा गाडी राखिएको घटनाको उल्लेख गर्दै सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न उठाएका छन् ।
राउतले लेखेका छन्, “होइन होला१ आज गेटै छेक्ने गरी गाडी राख्न लगाए, भोलि घर–घर अगाडि विस्फोटक पदार्थ राख्न लगाए भने के हुने होरु” उनका अनुसार यस्ता गतिविधिले नागरिक सुरक्षामाथि प्रत्यक्ष चुनौती सिर्जना गर्न सक्छ।
उनले आफ्नो प्रतिक्रियामा प्रगतिशील उर्दू कवि फैज अहमद फैजको चर्चित कविता ‘हम देखेंगे’का केही अंशसमेत उद्धृत गरेका छन्।
उता, सञ्चारगृह, सार्वजनिक स्थल र प्रमुख राजनीतिक व्यक्तित्वको निवास लक्षित गरी लगातार गाडी पार्क गरिएका घटनापछि यसको उद्देश्यबारे विभिन्न कोणबाट प्रश्न उठ्न थालेको छ ।