काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सेनाको ब्यारेक भत्काएर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष राउतले सार्वजनिक विद्यालय हटाउने कार्यमा सेना प्रयोग गरिएकोप्रति प्रश्न उठाउँदै यस्तो चुनौती दिएका हुन् ।
उनले लेखेका छन्, “सार्वजनिक विद्यालय यदि सेना लगाएर सरकारी जग्गाबाट भत्काउने हो भने सेना चाहिँ कुन जग्गामा बसेको छ ? छुनै नहुने संरक्षित वनजङ्गलभित्र सैकडौँ–हजारौँ रोपनी जमिन मिचेर होइन ?”
राउतले सरकारमाथि ‘गरिबमारा नीति’ अपनाएको आरोप लगाउँदै अझै आक्रोशपूर्ण भाषा प्रयोग गरेका छन्। 'गरीब सुकुम्बासीले पढ्ने झुप्रो भनेर हेप्न र भत्काउन सजिलो होला,' उनले भनेका छन्, 'हिम्मत भए संरक्षित र संवेदनशील वन क्षेत्रबाट सेनाका ब्यारेकहरू भत्काएर देखाऊ।'
सरकारले भने सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।