Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

कांग्रेसले संसदमै भन्यो–श्री ८ बालेन शाहलाई प्रश्न गर्न पाइँदैन ?

कांग्रेसले संसदमै भन्यो–श्री ८ बालेन शाहलाई प्रश्न गर्न पाइँदैन ?

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लाई श्री ८ भन्दै सम्बोधन गरेका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री शाह कसैले प्रश्न गर्न नपाउने निरंकुश शैलीमा अघि बढेको बताउँदै उनले भने–‘श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ।’

कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र शाह र अहिले १८२ सीटको प्रचण्ड मतसहितको कार्यकारी भूमिकामा रहेको प्रधानमन्त्री एकै हो कि होइन भन्ने पनि उनले प्रश्न गरेका छन् ।

उनले राज्य अनधिकृत नेटवर्कमा चल्न थालेको पनि बताए । सुरक्षा घेराभित्र अनधिकृत व्यक्तिहरूले चलाइरहँदा सत्ता पक्षका सांसदहरू मुखमा टेप लगाएर बसेको उनले बताए ।

उनले अलोकतान्त्रिक हर्कत गर्ने सरकारको कदम सोमबार देखिएको उल्लेख गरे । कांग्रेस सभापति गगन थापा र मिडिया हाउसअघि गाडी तेस्स्याउने काम अलोकतान्त्रिक र राज्य आतंकको अवस्था भएको उनले बताए ।

उनले भने–‘सरकार निरंकुश बन्दै गएको छ। सत्ताउन्मादले हुनुपर्छ । सत्तापक्षका सांसदहरूको मुखमा टेप लागेको छ।’

मुगुका गणेश नेपालीले रोजेको बाटोबारे चौतर्फी प्रश्न उठेपछि सरकारमाथि प्रश्न गर्दा ‘प्रश्न सोध्ने तँ को होस् ?’ भन्ने शैलीमा सरकारी व्यवहार देखिएको उनले आरोप लगाए।

राईले सरकारको शैलीलाई हिरण्यकश्यपुसँग तुलना गर्दै सरकारमाथि प्रश्न गर्न नछाड्ने बताए।

उनले सुरक्षाघेराभित्रका एक व्यक्तिले सुकुम्बासी होल्डिङ सेन्टरमा बसेका नागरिकलाई थर्काउने काम गरिरहेको आरोपसमेत लगाए। होल्डिङ सेन्टर, गणेश नेपालीको घटना र गाडी तेर्स्याउने प्रकरणबारे सरकार र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्नेमा अरूलाई दोष देखाएर पन्छिन खोजिएको उनको भनाइ थियो। उनले प्रधानमन्त्री बालेन शाहलाई श्री ८ सँग समेत तुलना गर्न भ्याएका हुन् । 

उनले बहुमतले संविधान उल्लङ्घन गर्ने लाइसेन्स नदिने उनले बताए । राईले भने–‘बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन । संविधानको धारा १३७ ले न्यायिक समीक्षाको व्यवस्था गर्छ । संविधानको धारा १ ले नै भन्छ, यो संविधान सर्वोच्च कानून हो । बहुमत संविधानभन्दा माथि छैन । बहुमतले जनताको प्रतिनिधित्व गर्छ, जनताको अधिकार कुल्चिने अधिकार दिँदैन ।’

सरकारले १८२ सीटको प्रचण्ड बहुमत दोहोर्‍याएर पनि त्यो संख्याले प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का नदिएको टिप्पणी गरे ।

उनले भने–‘यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न वर्जित छ भन्ने हो । सरकारले खासगरी श्री ८ बालेन शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यति मात्र कि देशमा रहेको संविधान र कानूनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्न भन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077