एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने कार्यकारी आदेश खारेज गर्दै अमेरिकामा जन्मिएका बालबालिकाको संवैधानिक नागरिकता अधिकारलाई कायम राखेको छ ।
मंगलबार आएको ६–३ को बहुमतीय निर्णयमा सर्वोच्च अदालतले ट्रम्प प्रशासनको आदेश संविधानविपरीत ठहर गर्दै अवैध रूपमा वा अस्थायी रूपमा अमेरिकामा रहेका आमाबाबुका सन्तानले पनि जन्मका आधारमा अमेरिकी नागरिकता प्राप्त गर्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको हो।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन जारी गरेको कार्यकारी आदेशमार्फत अमेरिकामा अवैध रूपमा वा अस्थायी रूपमा बसोबास गर्ने अभिभावकबाट जन्मिएका शिशुलाई स्वतः अमेरिकी नागरिकता नदिने व्यवस्था गर्न खोजेका थिए। तर उक्त आदेश कार्यान्वयनमा आउनुअघि नै विभिन्न तल्ला अदालतहरूले रोक लगाएका थिए।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले बहुमतीय निर्णय सुनाउँदै अमेरिकी संविधानले जन्मसिद्ध नागरिकताको अधिकार सुनिश्चित गरेको उल्लेख गरे। उनले अवैध वा अस्थायी हैसियतमा रहेका अभिभावकका सन्तान पनि अमेरिकामा जन्मिएपछि संवैधानिक रूपमा अमेरिकी नागरिक हुने स्पष्ट पारे।
अमेरिका विश्वका करिब ३० देशमध्ये एक हो, जहाँ देशभित्र जन्मिने अधिकांश व्यक्तिले जन्मकै आधारमा स्वतः नागरिकता प्राप्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।