काठमाडौं । परमाणु केन्द्रहरूको निरीक्षणलाई लिएर अमेरिका र इरानबीचको विवाद पुनः चर्किएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘अनन्तकाल’सम्म उच्चस्तरीय परमाणु निरीक्षण स्वीकार गरेको दाबी गरे पनि इरानले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेपछि दुई देशबीच तनाव बढेको हो।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानले परमाणु इमानदारी सुनिश्चित गर्न निरीक्षणमा सहमति जनाएको बताएका छन्।
उनले पत्रकारहरूसँग कुरा गर्दै इरानले वार्ताका क्रममा सहमति दिइसकेको दाबी दोहोर्याउँदै यदि त्यसबाट पछि हटेमा चलिरहेको वार्ता तत्काल अन्त्य गर्ने चेतावनी दिएका छन्।
तर इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकी दाबीलाई खारेज गर्दै हालसम्म अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका निरीक्षकहरूलाई इरानी परमाणु केन्द्रमा पुनः प्रवेश दिने कुनै नयाँ सहमति नभएको स्पष्ट पारेका छन्।
हालैका अमेरिकी र इजरायली सैन्य आक्रमणपछि क्षतिग्रस्त संरचनाहरूका विषयमा पनि कुनै सहमति नभएको इरानको भनाइ छ।
यसैबीच, ट्रम्पले इरानसँग ठूला सम्झौता भएमा हर्मुज जलडमरूमध्यको नौसैनिक अवरोध हटाउन अमेरिका तयार हुने संकेत दिएका छन्।