काठमाडौं । अमेरिकाले इरानमाथि लगाउँदै आएको लामो प्रतिबन्ध अस्थायी रूपमा स्थगित गर्दै अन्तर्राष्ट्रिय बजारमा इरानी तेल बिक्रीका लागि बाटो खुला गरेको छ ।
नयाँ सहमतिअनुसार इरानले कम्तीमा दुई महिनासम्म डलरमा तेल बिक्री गर्न पाउनेछ। यस अवधिमा उसले अमेरिकी तथा अन्य अन्तर्राष्ट्रिय कम्पनीमार्फत खुला रूपमा तेल कारोबार गर्न सक्नेछ ।
यसअघि प्रतिबन्धका कारण सीमित व्यापार गर्दै आएको इरानले मुख्यतः छायाँ सञ्जालमार्फत चीनलगायत मुलुकमा तेल निर्यात गर्दै आएको थियो।
अमेरिका–इरानबीच हाल स्विट्जरल्याण्डमा जारी वार्तापछि ६० दिनका लागि युद्धविराम गर्ने प्रारम्भिक सहमति भएको हो। सो अवधिमा अन्तिम शान्ति सम्झौताका लागि प्रयास जारी रहने बताइएको छ।
सहमतिअनुसार हर्मुज जलमार्गमा तेल तथा ग्यास बोकेका पानीजहाजहरूको आवतजावत निर्वाध रहनेछ भने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका निरीक्षकहरूलाई पनि यही सातादेखि इरान फर्कन अनुमति दिइनेछ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यो सहमतिलाई महत्वपूर्ण कूटनीतिक प्रगति भन्दै यसको कार्यान्वयनले क्षेत्रीय ऊर्जा आपूर्तिमा स्थिरता ल्याउने बताएका छन्।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता उल्लंघन गरे पुनः सैन्य कारबाही गर्न सकिने चेतावनी दिएका छन्। उनले आणविक हतियारको खतरा आर्थिक मन्दीभन्दा धेरै गम्भीर हुने भन्दै सुरक्षा प्राथमिकता नै मुख्य रहेको स्पष्ट पारेका छन्।