काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेकी छन्।
सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट भएको हो।
भेटमा दुई देशबीचको सम्बन्धका विविध आयामबारे संवाद भएको छ। उपराष्ट्रपति यादवले नेपाल र श्रीलंकाबीचको सम्बन्ध मित्रता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित रही सन् १९५७ जुलाईमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि निरन्तर विस्तार हुँदै आएको उल्लेख गरे।
उनले दुई देशबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्ध, जनस्तरबीचको आपसी सम्बन्ध तथा बुद्ध धर्मसँगको ऐतिहासिक सम्बन्धले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए।
उनले भने- 'लुम्बिनीलाई विश्व शान्तिको मुहानका रूपमा विकास गर्न श्रीलंका सरकारले पुर्याएको योगदानप्रति नेपालले प्रशंसा गर्दछ।'
उपराष्ट्रपति यादवले श्रीलंकाली तीर्थालुका लागि लुम्बिनी पवित्रस्थल रहेको र काठमाडौं-कोलम्बो सिधा उडानले भ्रमणलाई सहज बनाएको उल्लेख गरे। हालै सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कोलम्बो-भैरहवा सिधा उडानले श्रीलंकाली पर्यटकलाई लुम्बिनी भ्रमणमा थप प्रोत्साहन दिने विश्वाससमेत उनले व्यक्त गरे।
नेपालले श्रीलंकाली पर्यटकलाई निःशुल्क पर्यटक भिसा सुविधा दिँदै आएको र श्रीलंका सरकारले पनि नेपालीलाई निःशुल्क पर्यटक भिसा सुविधा प्रदान गर्ने निर्णय गरेकामा उपराष्ट्रपति यादवले खुसी व्यक्त गरे। उनले यसले पर्यटक प्रवाह बढाउने, जनस्तरबीचको सम्बन्धलाई बलियो बनाउने तथा मित्रतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
नेपालले श्रीलंकासँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व दिने उल्लेख गरे।
नेपालका लागि श्रीलंकाली राजदूत डेल्पिटियाले पनि दुई राष्ट्रबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरिन्। उनले नेपाल र श्रीलंका व्यापार, पर्यटनलगायत क्षेत्रमा थप सहकार्य गर्न सक्ने बताइन्।