एजेन्सी । युद्ध अन्त्यको अन्तिम टुङ्गो लगाउने उद्देश्यसहित अमेरिका र इरानबीच स्विट्जरल्याण्डको ल्युसर्न शहरमा उच्चस्तरीय प्रत्यक्ष वार्ता सुरु भएको छ।
६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रारम्भिक सहमतिपछि दुवै देश पहिलो पटक औपचारिक रूपमा वार्ताको टेबलमा आमनेसामने भएका हुन् ।
वार्तामा सहभागी एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञका अनुसार छलफल रातभर जारी रहने सम्भावना छ। वार्तामा मुख्य रूपमा हर्मुज जलमार्ग सञ्चालन, लेबनानमा जारी युद्धविराम कार्यान्वयन र इरानको आणविक कार्यक्रमको प्राविधिक तथा नीतिगत व्यवस्थापनका विषयमा केन्द्रित छलफल भइरहेको छ।
वार्ता सुरु हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले लेबनानमा आफ्नो प्रभावमा रहेका समूह (हिजबुल्लाह) लाई नियन्त्रणमा नलिएको खण्डमा कडा कारबाही गर्ने चेतावनी दिएका थिए।
उक्त अभिव्यक्तिलाई इरानका प्रमुख वार्ताकार मोहम्मद बगेर गालिबाफले खारेज गर्दै ‘धम्कीले नतिजा नआउने’ प्रतिक्रिया दिएका छन्।
अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। टोलीमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर र विशेष दूत स्टिभ विटकफ पनि सहभागी छन्। इरानका तर्फबाट विदेशमन्त्री अब्बास अराघचीसहित गालिबाफ वार्तामा सहभागी छन्।
मध्यस्थकर्ताको भूमिकामा पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख तथा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी उपस्थित छन्।
प्रस्तावित प्रारम्भिक समझदारीअनुसार युद्धविराम, हर्मुज जलमार्ग पुनः सञ्चालन, अमेरिकाद्वारा आर्थिक प्रतिबन्ध फुकुवा र इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलरको योजना समावेश रहेको बताइएको छ।
तर, वार्तासँगै लेबनानमा इजरायल र हिजबुल्लाहबीच बढ्दो तनावले शान्ति प्रक्रिया थप जटिल बनेको छ। पछिल्लो संघर्षमा दुवै पक्षबाट आक्रमण–प्रत्याक्रमण जारी रहँदा दर्जनौँ नागरिक र सैनिकको ज्यान गएको छ।