काठमाडौं । विश्वकप फुटबलको समूह चरणअन्तर्गत दोस्रो खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।
समूह ‘जी’ को खेलमा न्युजिल्यान्डले १४औँ मिनेटमा फिन सुरमानको गोलमार्फत अग्रता लिएको थियो। तर इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा मोडेको हो।
इजिप्टका लागि मुस्ताफा जिकोले ५९औँ मिनेटमा बराबरी गोल गरे। त्यसपछि ६७औँ मिनेटमा मोहम्मद सलाहले महत्वपूर्ण गोल गर्दै टोलीलाई अग्रता दिलाए। ८१औँ मिनेटमा ट्रेजेगे (ट्रिगुएट) ले थप गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे।
यो जितसँगै इजिप्टले समूह ‘जी’ मा कुल चार अंक जोडेको छ। यसअघि बेल्जियमसँग १–१ को बराबरी खेल्दै एक अंक जोडेको इजिप्टले न्युजिल्याण्डमाथिको जितपछि अंकतालिकामा बलियो स्थिति बनाएको छ।