काठमाडौं । फिफा विश्वकपको समूह चरणअन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्सले स्वीडेनलाई ५–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
नेदरल्याण्ड्सको जितमा ब्रायन बोब्बी र कोडी गाक्पो चम्किए। दुवैले समान दुई–दुई गोल गर्दै टोलीको आक्रामक प्रदर्शनलाई नेतृत्व गरे। बोब्बीले खेलको पाँचौँ र १६औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै नेदरल्याण्ड्सलाई बलियो अग्रता दिलाएका थिए।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै गाक्पोले गोल थपे भने ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को सहज अवस्थामा पुर्याए। स्वीडेनका एन्थोनी एलान्काले ५८औँ मिनेटमा सान्त्वना गोल फर्काए पनि त्यसले खेलको दिशा बदल्न सकेन। खेलको ८८औँ मिनेटमा सेन्सियो समरभिलले अर्को गोल थपेपछि नेदरल्याण्ड्सले ५–१ को प्रभावशाली जित सुनिश्चित गर्यो।
यसअघि पहिलो खेलमा जापानसँग २–२ को बराबरी खेलेको नेदरल्याण्ड्सले दोस्रो खेलबाट महत्वपूर्ण तीन अंक बटुल्दै समूहमा कुल चार अंक पुर्याएको छ।
उता, पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले हराएको स्वीडेन भने दोस्रो खेलमै त्यही गोलअन्तरले नेदरल्याण्ड्ससँग पराजित हुन पुगेको छ।