काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘डी’ को दोस्रो खेलमा घरेलु टोली अमेरिकाले अष्ट्रेलियालाई २–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।
घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले खेलको सुरुवातदेखि नै दबाब बनाएको थियो। त्यसको नतिजा १०औँ मिनेटमै आयो, जब पेनाल्टी क्षेत्रभित्र आएको बल क्लियर गर्ने प्रयासमा अष्ट्रेलियाका डिफेन्डर क्यामरन बर्गिसबाट आत्मघाती गोल भयो। यही गोलले अमेरिकालाई सुरुआती अग्रता दिलायो।
पहिलो हाफको ४४औँ मिनेटमा एलेक्स फ्रीम्यानले हेडरमार्फत दोस्रो गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए। सुरुमा सहायक रेफ्रीले अफसाइडको संकेत गरेका थिए। तर भिडियो सहायक रेफ्री ९ख्ब्च्० ले समीक्षा गरेपछि गोलले वैधता पायो र अमेरिका थप बलियो स्थितिमा पुग्यो।
दोस्रो हाफमा अष्ट्रेलियाले खेलमा फर्कने प्रयास गरे पनि अमेरिकी रक्षापंक्तिलाई भेद्न सकेन। अमेरिका भने २–० को नतिजा सुरक्षित राख्दै महत्त्वपूर्ण तीन अंक बटुल्न सफल भयो।
यो जितसँगै अमेरिकाले दुई खेलबाट शतप्रतिशत नतिजासहित ६ अंक जोडेको छ र नकआउट चरण नजिक पुगेको छ। यसअघि अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई ४–१ ले हराएको थियो।
अष्ट्रेलियाले भने पहिलो खेलमा टर्कीलाई २–० ले पराजित गरेको थियो। तर दोस्रो खेलमा आत्मघाती गोल र कमजोर फिनिसिङका कारण प्रतियोगितामा पहिलो हार बेहोर्न बाध्य भयो।