काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको रोमाञ्चक खेलमा घानाले पानामालाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ।
खेलको अतिरिक्त समयको अन्तिम क्षणमा वैकल्पिक खेलाडी केलेब यिरेन्कीले गरेको निर्णायक गोल घानाका लागि जितको आधार बन्यो।
खेलको ९५औँ मिनेटमा आएको उक्त गोलसँगै पानामाको पहिलो विश्वकप अंक जोड्ने सपना चकनाचुर भएको छ। यसअघि लगातार हार बेहोर्दै आएको पानामा यस खेलमा ऐतिहासिक अंकको नजिक पुगे पनि अन्तिम क्षणको गल्तीले फेरि निराश हुनुपर्यो।
खेलभर दुवै टोलीले अपेक्षित आक्रामक प्रदर्शन गर्न सकेनन्। कडा रक्षात्मक खेलका बीच अवसरहरू सीमित रहे पनि अन्तिम समयमा घानाले खेलको मोड बदल्दै जित आफ्नो पक्षमा पार्न सफल भयो।
यस जितसँगै घानाले विश्वकपमा आफ्नो अभियान ३ अंकसहित सुरु गरेको छ भने पानामा लगातार दोस्रो सहभागितामा पनि पहिलो अंक जोड्न असफल भएको छ।
सन् २०१८ को रूस विश्वकपबाट डेब्यु गरेको पानामा आफ्नो दोस्रो विश्वकप यात्रामा अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएको थियो । तर उत्कृष्ट रक्षात्मक प्रदर्शनका बाबजुद अन्तिम क्षणमा गोल खान पुग्दा टोलीको प्रयास सफल हुन सकेन।