काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अल्जेरियाविरुद्ध सुरुआती अग्रता बनाएको छ ।
कप्तान लियोनल मेसीको शानदार गोलमा अर्जेन्टिनाले खेलको १७औँ मिनेटमै १–० को अग्रता लिएको हो ।
पेनाल्टी क्षेत्रबाहिरबाट मेसीले प्रहार गरेको शक्तिशाली र सटीक सट सिधै जाली चुम्दै खेलको पहिलो गोलमा परिणत भयो।
अल्जेरियाली गोलरक्षकले कुनै अवसर नै नपाउने गरी गरिएको उक्त प्रहारले मैदानमा उपस्थित समर्थकलाई उत्साहित बनाएको थियो।
छैटौँ विश्वकप खेलिरहेका ३९ वर्षीय मेसीका लागि यो प्रतियोगितामा व्यक्तिगत १४औँ गोल हो ।
यस्तै मेस्सी छैंटौं विश्वकप खेल्न मैदान उत्रने पहिलो खेलाडी बनेका छन् । विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान राखेका मेसीले आज २७ औं विश्वकपको खेल खेलेका हुन्।
यो उनको लागि व्यक्तिगत रूपमा अर्को कीर्तिमानी उपलब्धि हो। उनले अर्जेन्टिनाको लागि यो २०० औँ अन्तर्राष्ट्रिय खेल खेल्दैछन्। अर्जेन्टिनाको लागि २०० खेल खेल्ने उनी पहिलो खेलाडी हुन्।