विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवासमा प्रहरीले छापा मारेको छ ।
बिहीबार मध्य राति विराटनगर महानगरपालिका–३ स्थित ल क्याम्पस नजिकैको निवासमा प्रहरी पुगेर छापा मारेको हो।
मन्त्री निवासमा प्रहरीको टोलीले विभिन्न कोठामा खोजतलास गरेको थियो ।
स्रोतका अनुसार प्रहरी के कारणले मन्त्री निवासमा खानतलासी गरेको भन्ने खुल्न सकेको छैन ।
यद्यपी राति प्रहरी पुग्दा मन्त्री पराजुली भने निवासमा थिएनन् ।
आजको संसद बैठकमा पराजुलीको निवासमा छापा मारिएको विषय उठाउँदै धनकुटाका प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले नयाँ सरकारले किन यस्तो गर्दैछ भन्दै प्रश्न पनि गरेका थिए।
यता, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले मन्त्री निवासमा छापा मारिएको भन्ने कुरा सत्य नभएको दाबी गरे। उनका अनुसार एक गम्भीर अपराधका फरार प्रतिवादी त्यहाँ लुकेर बसेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी खोजीमा सो क्षेत्रमा पुगेको थियो।