काठमाडौं । कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्डले फिफा विश्वकपमा विजयी सुरुआत गरेको छ ।
अमेरिकामा सम्पन्न समूह चरणको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो ।
इंग्ल्याण्डलाई जित दिलाउन कप्तान केनले दुई गोल गरे। उनले खेलको १०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। क्रोएसियाका कप्तान लुका मोड्रिचले फाउल गरेपछि प्राप्त अवसरलाई केनले सदुपयोग गरेका थिए।
योसँगै केन विश्वकप इतिहासमा पेनाल्टीमार्फत सर्वाधिक पाँच गोल गर्ने खेलाडी बने। साथै, दुई गोल थप्दै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १० पुर्याएका छन् भने इंग्ल्याण्डका लागि ८१ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान पनि कायम गरेका छन्।
क्रोएसियाले ३६औँ मिनेटमा पेटर सुसिकको गोलमार्फत खेल १–१ को बराबरीमा ल्याएको थियो। तर केहीबेरमै केनले डेक्लान राइसको उत्कृष्ट पासलाई हेडमार्फत जाली चुमाउँदै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए।
पहिलो हाफको इन्जुरी समयमा पिटर मुसाले गोल गर्दै क्रोएसियालाई फेरि २–२ को बराबरीमा पुर्याएपछि खेल थप रोमाञ्चक बनेको थियो।
दोस्रो हाफमा भने इंग्ल्याण्ड हावी बन्यो। ४७औँ मिनेटमा जुड बेलिंघमले निर्णायक गोल गर्दै टोलीलाई ३–२ को अग्रता दिलाए।
त्यसपछि ८५औँ मिनेटमा बुकायो साकाको पासमा मार्कस रासफोर्डले गोल थप्दै इंग्ल्याण्डको ४–२ को प्रभावशाली जित सुनिश्चित गरे।
यस जितसँगै इंग्ल्याण्डले विश्वकप अभियान विजयी सुरुआत गर्दै तालिकामा तीन महत्वपूर्ण अंक जोडेको छ भने क्रोएसिया पहिलो खेलमै पराजित भएको छ।