काठमाडौं । फिफा विश्वकपमा नर्वेले विजयी सुरुवात गरेको छ। समूह ‘आई’ अन्तर्गत भएको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्दै पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोडेको हो।
नर्वेको जितमा स्टार स्ट्राइकर अर्लिङ हलाण्ड नायक बने। विश्वकप डेब्यू खेल खेलेका हलाण्डले दुई गोल गर्दै टोलीको सहज जितमा निर्णायक भूमिका निभाए।
उनले २९औँ मिनेटमा पहिलो गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए भने ४३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
इराकका अयाम हुसैनले ३९औँ मिनेटमा एक गोल फर्काए पनि त्यो टोलीलाई खेलमा फर्काउन पर्याप्त भएन। पहिलो हाफ २–१ को अवस्थामा सकिएको थियो।
दोस्रो हाफमा नर्वेले खेलमाथि पूर्ण नियन्त्रण कायम राख्यो। ७१औँ मिनेटमा मार्टिन आर्डेगर्डले आकर्षक गोल गर्दै अग्रता ३–१ पुर्याए। त्यसपछि इन्जुरी समयमा इराकका अमेन हुसैनबाट आत्मघाती गोल भएपछि नर्वेले ४–१ को प्रभावशाली जित सुनिश्चित गर्यो।