काठमाडौं । अमेरिकामा जारी फिफा विश्वकपमा पोर्चुगल र डीआर कंगोबीचको रोमाञ्चक भिडन्त १–१ को बराबरीमा सकिएको छ।
सुरुआती अग्रता जोगाउन नसक्दा पोर्चुगल अंक बाँड्न बाध्य भयो भने डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा गोल गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
खेलको छैटौँ मिनेटमै पेड्रो नेटोको उत्कृष्ट क्रसमा जोआओ नेभ्सले शक्तिशाली हेडमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।
तर पहिलो हाफको अन्तिम समयमा डीआर कंगोका योआन विनेसाले आर्थर मोसाकाओको पासलाई हेडमार्फत जाली चुमाउँदै खेल बराबरीमा ल्याए। यो गोल डीआर कंगोको ५२ वर्षपछि विश्वकपमा भएको पहिलो गोलका रूपमा इतिहासमा दर्ज भएको छ।
दोस्रो हाफमा पोर्चुगलले लगातार दबाब बनाए पनि निर्णायक गोल गर्न सकेन। ५५औँ मिनेटमा जुआओ क्यान्सेलोले आकर्षक एक्रोब्याटिक प्रहारबाट बल जालीमा पुर्याए पनि अफसाइडका कारण गोलले मान्यता पाएन।
विश्वकपमा २३औँ पटक सहभागिता जनाएको पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि यस खेलमा गोलविहीन रहे।बराबरीसँगै दुवै टोलीले प्रतियोगिताको सुरुआती खेलबाट एक–एक अंक जोडे ।