एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा अल जजिराका क्यामेराम्यान अहमद विशाह, एक बालबालिकासहित कम्तीमा ६ जनाको मृत्यु भएको छ।
स्वास्थ्य अधिकारी र उद्धारकर्मीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उक्त जानकारी दिएका छन्।
अल जजिराले शनिबार मध्य गाजाको एक घरमा भएको आक्रमणमा आफ्ना क्यामेराम्यान अहमद विशाहको मृत्यु भएको पुष्टि गर्दै घटनालाई ‘हत्याको जघन्य अपराध’को संज्ञा दिएको छ।
सञ्चार संस्थाले जारी गरेको विज्ञप्तिमा यो घटना अन्तर्राष्ट्रिय मानवीय कानुन र पत्रकारको सुरक्षासम्बन्धी मापदण्डको स्पष्ट उल्लङ्घन भएको उल्लेख गर्दै पत्रकारलाई लक्षित गरी सत्यको आवाज दबाउने क्रमिक र व्यवस्थित नीतिको संकेत भएको आरोप लगाएको छ।
यता, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले अहमद विशाह हमासको सैन्य शाखासँग आबद्ध रहेको र स्नाइपर अपरेटिभका रूपमा कार्यरत रहेको दाबी गरेको छ। तर, उक्त आरोप पुष्टि गर्ने कुनै सार्वजनिक प्रमाण भने आईडीएफले प्रस्तुत गरेको छैन।
गाजास्थित हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरमा इजरायल र हमासबीच लागू भएको युद्धविरामपछि पनि जारी इजरायली सैन्य कारबाहीमा हालसम्म १ हजार ७ जनाको मृत्यु भइसकेको छ।