एजेन्सी । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानसँगको प्रारम्भिक समझदारी सफल रूपमा कार्यान्वयन भएमा इरानलाई पुनः विश्व अर्थतन्त्रमा फर्काउने बाटो खोल्न अमेरिका तयार रहेको बताएका छन् ।
‘फक्स न्युज’सँगको एक अन्तर्वार्तामा बोल्दै भान्सले ट्रम्प प्रशासनको वर्तमान सम्झौताको तुलना पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालमा भएको इरान सम्झौतासँग गरेका थिए।
उनका अनुसार अघिल्लो सम्झौता असफल भएको र अहिलेको पहल त्यसको पूर्ण विपरीत दिशामा अघि बढिरहेको छ।
भान्सले भने, 'ओबामाको पालाको सम्झौता र अहिलेको सम्झौताबीच मुख्य फरक के हो भने यसअन्तर्गत इरानले परमाणु हतियार बनाउन सक्दैन, युरेनियम संवर्द्धन गर्न सक्दैन र त्यसको भण्डारणसमेत गर्न सक्दैन।'
उनका अनुसार यदि इरानले सम्झौताका सबै सर्तहरू पालना गर्छ भने उसलाई अन्तर्राष्ट्रिय आर्थिक प्रणालीमा पुनः समेटिने र विभिन्न आर्थिक तथा कूटनीतिक लाभहरू प्राप्त हुनेछन्। तर उल्लंघन भएमा कुनै पनि प्रकारको सुविधा नदिइने उनले चेतावनी दिएका छन्।