Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

दक्षिण कोरियाका पूर्वकानुनमन्त्रीलाई पनि २५ वर्ष जेल सजाय

दक्षिण कोरियाका पूर्वकानुनमन्त्रीलाई पनि २५ वर्ष जेल सजाय

सोमवार , आषाढ ८, २०८३

एजेन्सी। दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलको विवादास्पद मार्सल ल घोषणासँग सम्बन्धित मुद्दामा पूर्वकानूनमन्त्री पार्क सुङ–जेलाई २५ वर्षको जेल सजाय सुनाएको छ।

सियोल केन्द्रीय जिल्ला अदालतले सोमबार विद्रोहमा संलग्न रहेको ठहर गर्दै  पूर्वकानूनमन्त्री पार्कमाथि उक्त फैसला सुनाएको हो ।

राष्ट्रिय समाचार संस्था योन्हापका अनुसार अदालतले पार्कलाई युन प्रशासनले सन् २०२४ मा लागू गरेको मार्सल लसँग सम्बन्धित विद्रोही गतिविधिमा सहभागी भएको निष्कर्ष निकालेको छ।

पूर्वराष्ट्रपति युन सुक योलले डिसेम्बर २०२४ मा घोषणा गरेको मार्सल ल करिब छ घण्टामात्र कायम रहेको थियो। संसद् सदस्यहरू राष्ट्रिय सभामा पुगेर आपत्कालीन बैठकमार्फत उक्त निर्णय खारेज गरेपछि मार्सल ल अन्त्य भएको थियो। त्यस घटनापछि दक्षिण कोरिया गम्भीर राजनीतिक सङ्कटमा फसेको थियो।

युनमाथि विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दा चलाइएको छ र उनी हाल हिरासतमा रहँदै आजीवन कारावासको सजायविरुद्ध अपिल गरिरहेका छन्। यसै महिनाको सुरुमा उत्तर कोरियातर्फ ड्रोन पठाएर राष्ट्रिय सङ्कट सिर्जना गर्न खोजेको आरोपमा उनलाई थप ३० वर्षको जेल सजाय सुनाइएको थियो। अभियोजन पक्षका अनुसार मार्सल ल लागू भएको प्रारम्भिक समयमा पार्कले न्याय मन्त्रालयका अधिकारीहरूको बैठक बोलाएका थिए।

त्यही क्रममा सरकारविरोधी व्यक्तिहरूलाई पक्राउ गर्नुपरेमा कारागारहरूको क्षमता जाँच्नसमेत निर्देशन दिइएको थियो। अदालतको फैसलाअनुसार कानूनमन्त्रीको हैसियतमा उनले मार्सल ल कमान्डसँग सहकार्य गर्न निर्देशन दिएका थिए र आदेश प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वासका आधारमा काम गरेका थिए।

अभियोजन पक्षले पार्कका लागि २० वर्ष जेल सजाय माग गरेको थियो। उनले आफ्नो अधिकारको दुरुपयोग गर्दै कानूनलाई विद्रोहको माध्यम बनाएको र कानूनी शासनमाथि चुनौती दिएको अभियोजकहरूको तर्क थियो। साथै, उनले कुनै पश्चात्ताप नदेखाएको आरोप पनि लगाइएको थियो। पूर्वराष्ट्रपति युनको रातिको टेलिभिजन सम्बोधनमार्फत गरिएको मार्सल ल घोषणाले दक्षिण कोरियामा अभूतपूर्व राजनीतिक सङ्कट निम्त्याएको थियो।

त्यसपछि देशभर विरोध प्रदर्शन भएका थिए, सेयर बजारमा गिरावट आएको थियो र अमेरिका लगायत प्रमुख सहयोगी राष्ट्रहरू पनि अप्रत्याशित रूपमा प्रभावित भएका थिए। युन प्रशासनसँग सम्बन्धित धेरै उच्च अधिकारीहरूलाई यसअघि नै विभिन्न सजाय सुनाइसकिएको छ। पूर्वप्रधानमन्त्री हान डक–सुलाई १५ वर्षको जेल सजाय दिइएको छ भने पूर्वगृहमन्त्री ली साङ–मिन नौ वर्षको जेल सजाय भोगिरहेका छन्।

गत साता पूर्वरक्षामन्त्रीलाई विद्रोहसँग सम्बन्धित गोप्य सैन्य सूचना सार्वजनिक गरेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077