काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई ५ दिनभित्र भवन खाली गर्न भनिएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आगामी असार १२ गतेसम्म (५ दिनभित्र) होल्डिङ सेन्टर खाली गर्न भनेको हो ।
समितिले आगामी शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गरेर स्वव्यवस्थापन गर्न भन्दै सूचना टाँस गरेको छ ।
काठमाडौंका नदी किनारबाट हटाएर उक्त होल्डिङ सेन्टरमा राखिएकाहरुलाई सरकारले प्रत्येक परिवारको स्वः व्यवस्थापनका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउनेछ ।
यस अवधिमा कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बस्दै आएका छन्।
वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकार आइसकेपछि २०८३ वैशाख १२, १३, १८, १९ र २० गते काठमाडौंका खोला किनारमा रहेका सुकुम्बासी तथा भूमीहीनहरुलाई सरकारले हटाएको थियो । उक्त बस्तीहरू हटाइएपछि २ हजार ६०८ जनाले नाम दर्ता गराएका छन्।
कतिपय सुकुम्बासीलाई यसअघि नै सरकारले बनाएको अपार्टमेन्टमा राख्ने भनिएको र कतिपयलाई तत्कालका लागि होल्डिङ सेन्टरमा राखिएको थियो ।
उनीहरूलाई सरकारको निर्णयअनुसार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई स्व: व्यवस्थापन गर्न मासिक २५ हजार रूपैयाँ दिने भनिएको छ। सोही रकम दिएर हटाउन थालिएको हो।
सरकारले तोकेको राहत रकम प्राप्त गर्नका लागि निवेदन दिनुपर्ने र सो रकम सम्बन्धित व्यक्तिको बैंक खातामा सोझै पठाइने छ ।
उनीहरुलाई घर भाडाको रकम मासिक रुपमा किस्ताबन्दीमा सोही खातामा उपलब्ध गराइनेछ ।
यता बागमती सभ्यताको उक्त सूचनापछि त्यहाँस्थित भूमिहीन सुकुम्बासी अन्योलमा परेका छन् ।